Rule 52
बढुवा सम्बन्धी विशेष व्यवस्था
: (१) एउटै पदमा कम्तीमा पाँच वर्ष बहाल रहिरहेका सशस्त्र प्रहरी उपरीक्षक वा सो भन्दा मुनिका सशस्त्र प्रहरी कर्मचारी अनिवार्य अवकाश हुन एक महिना बाँकी भएमा निजलाई एक श्रेणी वा तह माथीको पदमा बढुवा गरिनेछ ।
तर यसरी बढुवा गर्दा सशस्त्र प्रहरी नायब निरिक्षकलाई सशस्त्र प्रहरी निरिक्षकको पदमा बढुवा गरिनेछ ।
(२) उपनियम (१) बमोजिम बढुवा गर्नको लागि स्वतः विशेष पद सिर्जना हुनेछ र त्यस्तो सशस्त्र प्रहरी कर्मचारी अवकाश भएपछि त्यस्तो पद स्वतः खारेज हुनेछ ।
(३) देहाय बमोजिमको उत्कृष्ट कार्य गरेका र बढुवाको लागी न्युनतम सेवा अवधि पुरा गरेका राजपत्र अनंङ्कित सशस्त्र प्रहरी कर्मचारीलाई सम्बन्धित बढुवा समितिको सिफारिसमा अख्तियारवालाले एक तह माथिको रिक्त पदमा बढुवा गर्न सक्नेछ :–
(क) राष्ट्र, सशस्त्र प्रहरी बल तथा आफू सेवारत कार्यालयको मान, प्रतिष्ठा र गौरव बढाउन प्रशंसनीय कार्य गरेको,
(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न विधामा उत्कृष्ट कार्य गरी राष्ट्र र सशस्त्र प्रहरी सङ्गठनको छवि उच्च राख्न विशेष योगदान पुर्‍याएको, वा
(ग) सशस्त्र प्रहरी कारबाहीको अवस्थामा आफ्नो कर्तव्य पालनामा बहादुरी देखाएको भनी सम्बन्धित फिल्ड कमाण्डर वा ईकाईबाट सिफारिस भएको ।
(४) उपनियम (३) बमोजिम बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीको नाम, पद, बढुवा गर्नु पर्नाको आधार र औचित्य सहितको लिखित विवरण प्रधान कार्यालयले बढुवा गरिएको पन्ध्र दिनभित्र मन्त्रालयमा पठाउनु पर्नेछ ।